Skip NavigationMenu

मास कन्भर्सन डीसअर्डर उपचार तथा व्यबस्थापन पुस्तिका

Preview Price Abstract Language
Free Download

विश्वस्वास्थ्य संगठनका अनुसार कन्भर्सन डिसअर्डरवाट प्रभावित भएकाहरुमा सामान्यतया विगतका कुराहरुको स्मरण, आफ्नो पहिचानको ख्याल, शरीरमा महसुस हुने चेतना तथा शरीरका चालसंग सम्बन्धित जानकारीहरु आशिंक वा पुरा मात्रामा समन्वय नहुने हुन्छ । यसलाई छारे रोगको बेहोस नभई मनमा पर्ने असरले गर्दा छोप्ने (एकथअजयनभलष्अ ल्यल भ्उष्भिउतष्अ क्भष्शगचभ( एल्भ्क्० भनेर पनि बुझिन्छ । कन्भर्सन डिसअर्डरमा मनोवैज्ञानिक कारण भएपनि प्रायःजसो शारीरिक लक्षणहरु देखिन्छ । यसमा छोप्ने वा बेहोस हुने, शरीरका विभिन्न अङ्ग नचल्ने, दुखाईका लक्षणहरु फरक–फरक स्वरुपमा देखिने हुन्छ । यो समस्या एक जनामा तथा समुहमा पनि देखिन सक्दछ । यदि कन्भर्सन डिसअर्डरका लक्षणहरु एक जना भन्दा बढी व्यक्तिमा एकै पटक देखिन्छ भने त्यसलाई मास कन्भर्सन डिसअर्डर भनिन्छ । सामान्यतया यसमा देखिने लक्षणहरु छोप्ने वा बेहोस हुने, हातखुट्टा धेरै चलाउने, यता–उता हिर्काउने, श्वासप्रश्वासमा गाह्रो हुने, देवीदेउता वा वायु आफुमा चढेको छ भनेर बक्ने, शरीरका कुनै भागमा चेतना कमी भएको गुनासो गर्ने आदि हुन्छ । यो समस्या प्राय किशोरकिशोरी उमेरमा बढी देखिएको पाइन्छ । यो समस्या पुरुषमा पनि पाइन्छ तथापि महिलामा भन्दा कम संख्यामा भेटिएको छ ।

शारीरिक, मनोवैज्ञानिक तथा सामाजिक परिस्थितिहरुबीचको अन्र्तक्रियाले उत्पन्न गर्ने मनोवैज्ञानिक तनावले नै कन्भर्सन डिसअर्डरको लक्षणहरु प्रकट भएको देखिन्छ । जस्तै परीक्षाको डर, परिवार तथा साथी–भाइसँगको सम्बन्धमा आउने समस्या, आघातजन्य घटनाहरुको अनुभव (शारीरिक, मानसिक, यौन हिंसा) हरुले पार्ने तनावले गर्दा सामान्यतया यो समस्या भएको अध्ययनहरुले देखाएको छ । कन्भर्सन डिसअर्डर नै हो कि होइन भनेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकले बिरामीको पूर्ण रुपमा शारीरिक परीक्षण गर्नु जरुरी हुन्छ । त्यसैगरी अरु मानसिक रोग पनि भए नभएको जाँच्नु जरुरी हुन्छ । चिकित्सकिय जाँचमा यदि कुनै शारीरिक रोग वा अरु मानसिक रोग भेटिए पहिला त्यसको उपचारमा ध्यान दिनु जरुरी हुन्छ ।

समुहमा देखिने कन्भर्सन (मास कन्भर्सन)का घटनाहरु विद्यालयमा बढ्दै गएको देखिन्छ भने यो समस्याको बारेमा खासै ज्ञान तथा उपचारमा दक्षताको कमी देखिन्छ । यसको मद्दतले स्वास्थ्यकर्मी, शिक्षक, मनोपरामर्शकर्ता तथा अभिभावकलाई तालिम प्रदान गरेर कन्भर्सनको समस्यालाई समयमा नै व्यवस्थापन गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा हो । यो समस्या भएका व्यक्ति तथा समुहलाई मनोपरामर्श उपचार, शिक्षक, अभिभावक तथा साथीहरुलाई मनोशिक्षा जस्ता सहयोगले मद्दत गर्न सकिन्छ । जो व्यक्तिलाई पहिला कन्भर्सनको लक्षण देखिएको हो यसलाई मास कन्भर्सनमा इन्डेक्स केस भनेर बुझिन्छ । यो केसको समयमै आवश्यक उपचार तथा हेरचाहले लक्षण कम हुँदै जान्छ जसले गर्दा अरुहरुमा देखिएको कन्भर्सनका लक्षणहरु पनि व्यवस्थापन गर्न सहज पुग्दछ । मनोसामाजिक सहयोगमा कन्भर्सनको लक्षण देखिएको केसको मनोसामाजिक अवस्था, अन्तरसम्बन्धमा भएको तनावलाई पत्ता लगाई त्यसको समाधानमा सहयोग पुग्ने ढङ्गले छलफल गर्नु महत्वपूर्ण हुन्छ । मनोसामाजिक उपचारमा तनाव कम गर्ने तरिकाहरु जस्तैः श्वासप्रश्वास तथा ध्यानको अभ्यास, समस्या समाधानको सिपको अझ महत्वपूर्ण भुमिका हुन्छ ।

कन्भर्सन डिसअर्डरको बारेमा हाम्रो समाजमा व्याप्त विश्वास (खासगरी रोगको लक्षणकाबारेमा) ले गर्दा धेरैजसो बिरामीहरु सो समस्याको उपचारमा पनि धामीझाँक्रीको मद्दत लिने गर्दछन् । समाजमा यो समस्याको बारेमा नकारात्मक धारणा तथा लाञ्छनाहरु पनि त्यत्तिकै मात्रामा देखिन्छ । मास कन्भर्सन डिसअर्डर सर्छ भनेर पनि बुझिने गरेको देखिन्छ । यसको उपचार गर्दा परिवारको सामाजिक विश्वासलाई सम्मान गर्दै महंगा र अन्धविश्वासमा आधारित उपचारमा भन्दा वैज्ञानिक तथ्यमा आधारित उपचारहरुलाई ग्रहण गर्नुपर्दछ । समुदायमा यो समस्याको बारेमा जनचेतना बढाउनुपर्ने आवश्यकता बढी नै छ जसले गर्दा यसप्रतिको अन्धविश्वास तथा लाञ्छनामा कम हुन तथा यो समस्या कमहुनमा सहयोग पुगोस् ।

Nepali

download here